रसुवा – कोरोना भाइरसको त्रासका कारण बन्द भएर करिब पाँच महिनापछि सञ्चालनमा आएको रसुवागढी नाकामा सामग्री आयात निरन्तर भइरहे पनि भन्सार जाँचपास भने हुन सकेको छैन । नाकासम्म व्यापारी तथा व्यापारीका प्रतिनिधि आउन नसक्दा जाँचपास हुन नसकेको हो ।
व्यापारी तथा व्यापारीका प्रतिनिधि बाहिरी जिल्लाका रहेको र उनीहरूका लागि पासको असहजताको कारण समस्या सिर्जना भएको हो । व्यापारी वा व्यापारीका प्रतिनिधि आएर सामग्रीको घोषणा गरेपछि मात्र जाँचपास सुरु हुने रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताउनुभयो ।
सोमबारदेखि चीनले सामग्री आयात गर्नका लागि मात्रै एकतर्फी नाका खोलेको थियो । त्यसदिनदेखि चिनिँया सवारीले दैनिक चारवटा गाडीमा सामग्री ल्याइरहेका छन् । चिनियाँ एउटा गाडीले ल्याएको सामग्री नेपाली दुईवटा कन्टेनरमा राखिन्छ ।
विश्वव्यापी फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण फैलिन नदिन भन्दै गएको माघ १५ गतेदेखि नाका बन्द भएको थियो । नेपालको तर्फबाट नाकामा अहिले १५ जना चालक र १६ जना कामदारले राखिएको छ ।
चिनियाँ गाडीले मितेरी पुलसम्म सामग्री ल्याएर झार्ने र चिनियाँ गाडी फर्किएपछि एकपटकमा दुईवटा नेपाली कन्टेनरले सामग्री नेपालतर्फ ल्याउने व्यवस्था मिलाइएको छ ।
सीमामा व्यापारिक गतिविधि बढेपछि कोरोनाको सङ्क्रमण पनि फैलन सक्ने भएकाले स्वास्थ्य सुरक्षालाई ध्यान दिएर नाका खोल्ने सहमति भएको थियो ।