काठमाण्डाै – देशभर भारी वर्षाका कारण बाढी र पहिरोको जोखिम बढ्दै गएको छ । विभिन्न स्थानमा पहिरोमा पुरिएको मानिसको मृत्यु भएको छ । यसैबिच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिम क्षेत्रका बासिन्दालाई आइतबारसम्म सुरक्षित ठाउँमा बस्न आग्रह गरेको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले कष्ट सहेरै भए पनि आइतबारसम्म नदी किनार क्षेत्र र जोखिम आँकलन गरिएको क्षेत्रमा नबसी सुरक्षित ठाउँमा जान आग्रह गर्नुभएको हो ।
‘विपद्को पूर्वानुमान गरिएको पहिलो दिन बुधबार सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा भेलपहिरो र बाढीले क्षति गर्याे’, उहाँले भन्नुभयो, ‘बरु कष्ट सहनुस् तर जोखिम क्षेत्रमा नबस्नुस् ।’
अहिले भेलपहिरो बढी आउने पाइएको र विगतमा पहिरो खसेर बनेको भूभागमा कम्तिमा मनसुन सक्रिय भएको बेला नबसी अन्यत्रै सुरक्षित स्थानमा जान आग्रह गर्नुभएको छ । तराई र चुरे क्षेत्रका मुख्य नदी तथा शाखा नदीमा सावधानी अपनाउन भनिएको छ ।
त्यस्तै ३० हजारभन्दा बढीलाई सतर्कताका लागि मोबाइल सन्देश पठाइएको पनि प्राधिकरणले जनाएको छ । यसअघि नै परेको पानीले जमिन गलिसकेकाले थोरै पानी पर्दैमा पहिरो र बाढीको ठूलो जोखिम रहेको प्राधिकरणले जनाएको छ ।
खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् शिवकुमार बाँस्कोटाले भौगोलिक विविधता रहेकाले एक ठाउँको अध्ययनले अर्को ठाउँमा काम गर्न नसक्ने भएकाले जोखिम पहिचान गरी सुरक्षित बस्नुपर्नेमा जोड दिनुभयो ।
उहाँका अनुसार मनसुन सक्रिय भएपछि मुख्यगरी चुरे क्षेत्र र महाभारत क्षेत्रमा बढी पहिरो जाने गरेको छ ।