काठमाडौं- काठमाण्डौँ उपत्यकाम विभिन्न फरक–फरक ४ स्थानमा नयाँ सहर बन्ने भएको छ । उपत्यकाका विभिन्न चार स्थानमा बन्ने शहरमध्ये तीन शहरको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) स्वीकृत भएको छ ।
काठमाडौं उपत्यका भौतिक विकास समितिबाट तीन डीपीआर स्वीकृत भएसँगै अहिले मन्त्रिपरिषद्मा पेस गरिएको उपत्यका विकास प्राधिकरणले जनाएको छ ।
स्तावित चार नयाँ शहरलाई स्मार्ट शहरका रुपमा व्याख्या गर्ने गरिएको छ । चार शहरलाई ‘इशान काठमाडौं’, ‘आग्नेय काठमाडौं’, ‘नैऋत्य काठमाडौं’ र उत्तर काठमाडौं नाम दिइएको छ ।
जसमध्ये इशान, आग्नेय र उत्तर दिशामा पर्ने तीन शहर निर्माणको डीपीआर तयार गरी मन्त्रिपरिषद्मा पेस गरिएको प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले जानकारी दिए ।
ललितपुरमा बन्ने भनिएको ‘नैऋत्य’ नयाँ शहर निर्माणमा भने अन्योलता देखिएको छ । ललितपुर महानगरपालिकाले चासो नदेखाएकाले अन्योलता देखिएको प्राधिकरणले जनाएको छ ।
‘नगरप्रमुखलाई पटक-पटक बोलाउँदा पनि बैठकमा उपस्थित हुनुभएन’ तिवारीले भने, ‘त्यसकारण ललितपुरमा बन्ने नैऋत्य शहरको डीपीआर सिफारिस भएको छैन ।’
यससँगै प्राधिकरणले अहिले उपत्यकामा बन्ने तीन शहरको मात्र डीपीआर मन्त्रालयमा पठाएको छ ।
मन्त्रिपरिषदबाट स्वीकृत भएसँगै जग्गा प्राप्तिको सुचना निस्कने र नयाँ शहरको निर्माण गर्न ठेक्कामा दिने प्रक्रिया पनि अघि बढेको छ ।
नयाँ सहर ६ वर्षभित्र बन्ने अनुमान गरिएको छ ।