काठमाण्डाै – भारी वर्षाको कारण देशका विभिन्न भागमा बाढी–पहिरोले सडक अवरुद्ध भएका छन् ।
सिन्धुपाल्चोक, नवलपरासी, सिन्धुली, म्याग्दी, मकवानपुर, दैलेख, काभ्रे, रौतहट, प्यूठान, अछाम, लमजुङ, मुस्ताङ, मनाङमा बाढीपहिराले सडक अवरुद्ध छ । अवरुद्ध सडक खुलाउने प्रयास भैरहेको सडक विभागले जनाएको छ ।
नवलपरासी पूर्वमा पर्ने पूर्व पश्चिम राजमार्गको गैँडाकोट थुम्सीमा खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध सडक एकतर्फी खुलेको छ ।
नवलपरासीकै दाउन्ने भन्ने ठाउँमा पहिरो जाँदा अवरुद्ध भएको सडक पनि एकतर्फी सञ्चालनमा आएको छ ।
लम्जुङको मर्स्याङ्दी गाउँपालिका ४ र बेशीशहर ६ मा खसेको पहिरोका कारण यो सडकखण्डमा गाडी चल्न सकेका छैनन् । यस्तै म्याग्दी जोमसोम सडकखण्डमा पनि गाडी चलेका छैनन् । यो सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएकाले गाडी नचलेको प्रहरीले जनाएको छ । यस्तै साँफे मार्तडी सडकखण्ड पनि अवरुद्ध भएको छ ।
बाजुराको बुढीगंगा नगरपालिका २ अम्कोटमा पहिरो गएकाले यो सडकखण्ड अवरुद्ध भएको हो । बिपी राजमार्ग भने एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।