बैतडी – लगातारको वर्षाको कारण अहिले देशका विभिन्न ठाउँहरु पहिरोको जोखिममा छन् । बैतडीका ८ वटा पालिका पहिरोको उच्च जोखिममा रहेका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौंडी नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिका पहिरोको उच्च जोखिममा रहेका छन् ।
जिल्लाका अन्य पालिकाहरुमा विभिन्न प्रकोपको जोखिम रहेको भए पनि आठवटा पालिका पहिरोको उच्च जोखिममा रहेका सहायक प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।
जिल्लामा विभिन्न किसिमका प्रकोपहरुको जोखिम रहेको र ती प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताउनुभयो ।
जिल्लाको डिलाशैनी गाउँपालिकाको बांगाबगर, गोकुलेश्वर, रुद्रेश्वर, साउनगाउँ, देवगाउँ, ल्वारीखेत र दोगडाकेदार गाउँपालिकाको सित्तड र न्वाली पहिरोको उच्च जोखिममा छन् ।