म्याग्दी- धवलागिरि गाउँपालिका–६ रिखकी ३३ वर्षीया हीरा जुग्जालीको शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने योजना उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन। ‘बिहानै मेलामा जाने योजना थियो। जेठी छोरी र छोरा मसँग थिए’, हीराका श्रीमान् धनबहादुरले भने, ‘अर्को कोठामा सुतेका दुई छोरी र श्रीमतीलाई तान्दातान्दै पहिरोले बगायो।’ भाग्ने क्रममा घाइते भएर बेनी अस्पतालमा उपचार गराइरहेका धनबहादुर श्रीमती, छोरी कञ्चन र करिश्मालाई गुमाउनुको पीडाले भक्कानिए।
जुग्जालीका छोरा अर्जन र अर्की छोरी रितु पहिरो आएको थाहा पाएपछि भागेका थिए। करिब ३६ घण्टासम्म शरीरमा लागेको चोटको पीडा सहेर बसेका धनबहादुरले शनिबार साँझ अस्पताल आएपछि दुःखाई कम भएको सुनाए। ‘खेतबारी, गोठ र घर सबै पहिरोले बगायो’, उनले भने, ‘न बस्ने घर छ। न जीवनमा साथ दिने श्रीमती र साना छोरीहरु रहे।’
पहिरोमा घाइते भएका १२ जनाको शनिबार दिउँसो नेपाली सेना र प्रभु एयरको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो।
पहिरो खस्न थालेपछि घरभित्र सुतिरहेकी आमा ताजिमा केसी र साथी सविन पुनलाई उद्धार गर्न गएका धवलागिरि गाउँपालिका–६ कल्लेनीका १६ वर्षीय प्रकाश केसी पहिरोमा पुरिए। घरछेउको खोल्सामा बाढी र माख्लाको भिरबाट पहिरो खस्न थालेपछि शुक्रबार बिहान १ बजे छिमेकी परदेवी पुन कहाँ गएका केसी आमा र साथीलाई भगाउन बिहान ५ बजेतिर घर जाएका थिए।
‘मामा (प्रकाश)ले राति १ बजे आएर हामीलाई उठाउनुभयो। बिहानै उपल्लो कल्लेनी जाने भनेर बसेका थियौँ’, पहिरोमा भाग्ने क्रममा घाइते भएकी परदेवीले भनिन्, ‘पाँच बजेतिर उज्यालो हुन लागेपछि खोला कत्रो आयो हेर्छु, सविन र आमालाई उठाएर ल्याउँछु भनेर गएका मामालाई हेर्दाहेर्दै पुर्यो। हामीलाई पनि भाग्दाभाग्दै ढुङ्गाले चोट लाग्यो।’
धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरोले २७ जनाको मृत्यु भएको छ। बेपत्ता भएका तीन जीवितै सम्पर्कमा आएका छन्। चार अझै बेपत्ता छन्। धवलागिरि–६ मराङका १८, मालिका–७ बिमका आठ र रघुगङ्गा–६ ठाडाखानीका एक जनाको शव भेटिएको प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले बताए।