दाङ- जिल्लामा सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या ३३९ पुगेको छ । नियमित औषधि सेवन गरिरहेका १६९ जना घोराही उपमहानगरपालिकामा गत वर्ष गरिएको परीक्षणमा ५२ जना र दङ्गीशरण गाउँपालिकामा गरिएको परीक्षणमा ११८ जनामा पोजेटिभ देखीएपछि सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या बढेको हो ।
दङ्गीशरण गाउँपालिकामा शनिबार र आइतबार गरी ७१५ थारु समुदायका नागरिकले स्वास्थ्य परीक्षण गरेका थिए । शनिबार गरिएको परीक्षणमा ७८ जनामा सिकलसेल देखा परेको थियो भने आइतबार गरिएको परीक्षणमा ४० जनामा देखिएको हो ।
सोमबार दङ्गीशरणको १ र २ नम्बर वडामा शिविर सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत थारु समुदायको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिँदै सिकलसेल एनिमिया स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
दाङमा सिकलसेल एनिमियाका बिरामी बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मानव रगतमा पाइने रातो रक्तकणिकाको स्वरूप विकृत भएपछि सिकलसेल एनिमिया रोग लाग्ने गर्दछ । नेपालमा विशेष गरेर थारु समुदायमा देखापरेको यो रोग दाङमा भने एकजना गैह्रथारु समुदायका मानिसमा समेत देखापरेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ ।
नेपाल सरकारले सिकलसेल रोगको उपचारका लागि एक लाखसम्मको रकम सुविधा उपलब्ध गराउँदै आएको छ ।