काठमाण्डौ – साढे तीन महिनापछि काठमाण्डौका सडकमा सार्वजनिक गाडी चल्न थालेका छन् ।
सरकारले तोकेको मापदण्ड अनुसार केही व्यवसायीले गाडी चलाउन थालेका छन् । तर सबै रुटमा सार्वजनिक गाडी चलेका छैनन् । मयूर यातायात, संयुक्त यातायात, सुन्दर यातायात लगायतका केही कम्पनीले सीमित रुटमा गाडी चलाउन थालेका हुन् ।
मयूर यातायातका सबै बस चल्ने
सोमबारदेखि बस चलाउन थालेको मयूर यातायातले बुधबारदेखि सबै बस सञ्चालन गर्ने भएको छ । ४४ वटा बस रहेको मयूर यातायात कम्पनीले आफ्ना सबै बस चलाउन चालक र सहचालकहरुलाई तयारी अवस्थामा राखेको छ ।
कोरोेना भाइरसको जोखिम झन् बढ्दै गएकाले चालक र सहचालकको सुरक्षाका लागि पीपीई सेट उपलब्ध गराईने कम्पनीका सञ्चालक राज श्रेष्ठले जानकारी दिनुभयो । बुधबारदेखि आफ्ना ४४ वटै बस चलाउन बाहिरी जिल्लामा रोकिएका बसलाई पनि काठमाण्डौ ल्याइएको उहाँले बताउनुभयो ।