सुर्खेत – मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को रजिष्ट्रार पदका लागि १९ जनाको आवेदन परेको छ । नियुक्तिको सिफारिस गर्ने अधिकार उपकुलपतिलाई भए पनि छनोट प्रक्रिया पारदर्शी बनाउन विश्वविद्यालयले एक साताअघि रजिष्ट्रारसँगै विभिन्न तीन वटा संकायका डिनका लागि खुला दरखास्त आह्वान गरेको थियो ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन, २०६७ को दफा २५ बमोजिम रजिस्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपति (प्रधानमन्त्री) बाट हुने प्रावधान छ । विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले रजिष्ट्रार पदका लागि १९ जनाको दरखास्त परेको जानकारी दिए । उनले अबको एक साताभित्रै विश्वविद्यालयले नयाँ रजिष्ट्रार पाउने बताए ।
डिनका लागि दरखास्त अवधि बाँकी नै छ । आवेदन दिएकामध्ये अधिकांश विश्वविद्यालयकै पूर्व डिनदेखि सह–प्राध्यापक लगायतका छन् ।