काठमाण्डौँ उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । सरकारले लक्षणविहीन र सामान्य लक्षण भएका कोरोना संक्रमितलाई घरमै आइसोलेशनमा बस्न सक्ने गरी नयाँ मापदण्ड जारी गरेको थियो ।
१४ दिनसम्म आइसोलेशनमा बस्ने संक्रमितमा लक्षण नदेखिएमा पुनः परीक्षण नगरिकन सरकारले घर पठाएको थियो । त्यस्तै, भारतबाट स्वदेश फर्किएका कतिपय नेपालीलाई १४ दिन क्वारेन्टानमा राखेर आरडिटी परीक्षण मात्र गरेर घर फर्किएका थिए ।
तर, पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि लक्षणविहीन कोरोनासंक्रमितलाई इसोलेशन सेन्टरमा राखिने भएको छ । लक्षणविहीन संक्रमितलाई अस्पताल भर्ना नगरेर आइसोलेसन सेन्टरमा राखिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डाक्टर जागेश्वर गौतमले बताए ।
काठमाडौँ उपत्यकाका तीन ठाउँका आइसोलेशन सेन्टरमा करिब दुई हजार लक्षणविहीन कोरोना संक्रमितलाई राखिने छ । खरिपाटी, कीर्तिपुर, र मनमोहन अस्पतालमा आइसोलेसन सेन्टर बनाउने काम अघि बढाइएको उनले बताए ।
लक्षण भएका कोरोना संक्रमितलाई अस्पताल भर्ना गरिने छ भने लक्षणविहीन संक्रमितलाई आइसोलेशनमा राखिने प्रवक्ता डाक्टर गौतम बताउँछन् ।