पोखरा – गण्डकी प्रदेशका पाँच जिल्लामा थप २५ जना कोरोना संक्रमित फेला परेका छन् ।
पूर्वी नवलपरासीमा ११, म्याग्दीमा ९, तनहुँमा ३ तथा गोरखा र कास्कीमा १-१ जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या एक हजार २२८ पुगेको छ ।
गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक विनोद विन्दु शर्माले बुधबार दिएको जानकारीअनुसार पूर्वीनवलपरासीको बुलिङटार गाउँपालिकामा एक महिला र ८ पुरुष गरी ९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कावासोती नगरपालिकामा ४८ र २६ वर्षका दुई पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
म्याग्दीको बेनीमा ३, मालिकामा ४, रघुगंगामा १ र मंगलामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी तनहुँको भिमादमा २ र आँबुखैरीनीमा १ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै गोरखाको गोरखा नगरपालिका र कास्कीको पोखरा उपमहानगरपालिकामा एक-एक जनामा कोरोना देखिएको छ ।
यसैगरी चितवनमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार माडी नगरपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका अनुसार माडी नगरपालिका वडा नम्बर १, ७ र ८ का १९ वर्षदेखि ३६ वर्ष उमेर समूहका पुरुषहरु संक्रमित भएका हुन् । माडी नगरपालिकाका अनुसार उनीहरु सबै जना क्वारेन्टिनमा बस्दै आइरहेका छन् । योसँगै चितवनमा कुल संक्रमितको संख्या १०८ पुगेको छ ।
मंगलबार प्रयोगशालामा कुल ३०८ वटा नमुना परीक्षण गरिएको थियो । जसमध्ये २८९ नमुनाको रिपोट नगेटिभ आएको छ । चितवन जिल्लाभित्रका मात्र हालसम्म ६१ हजार बढीको नमुना परीक्षण भइसकेको छ ।
यस्तै भरतपुरमा नै गरिएको परीक्षणमा पूर्वी नवलपरासीको कावासोती र बुलिङटारका गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।