सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा गत बुधबार राति आएको बाढीपहिरोमा तीन जनाको मृत्यु भएको छ । बेपत्ता २० जनाको खोजीकार्य जारी रहे पनि अहिलेसम्म फेला पार्न नसकिएको हुँदा भोटेकोशीले बगाएको आशङ्का हुन थालेको छ ।
चार दिनदेखि मङ्गलबारसम्म स्काभेटर लगाएर खोजीकार्य जारी राखे पनि बेपत्ताको शव भेटिने सम्भावना ज्यादै न्यून रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।
बाढी र पहिरोले सडकको सतहभन्दा धेरै माथिसम्म पुरिने गरी माटोसहित ठूला–ठूला ढुङ्गा थुपारेको हुँदा स्काभेटरले समेत हटाउन कठिनाइ परेकाले समस्या उत्पन्न भएको छ । उद्धारकार्यका लागि काठमाडौँबाट आएको २५ सदस्यीय टोली पनि मङ्गलबार फर्किसकेको छ । बाढी र पहिरोले बाह्रबिसेदेखि मितेरी पुलसम्म १५ ठाउँमा सडक बिग्रेको प्रहरी निरीक्षक न्यौपानेले बताए ।
बाह्रबिसेको खागदलखोलाको पुल बगाएपछि अस्थायी काठको फटके राखिएको छ । खोर्सानीबारीको सडक बगाएपछि घुमाउरो बाटो हुँदै जलेटार ब्यारेक भएर फटके तरेर पारी जानुपर्ने बाध्यता छ ।
डिभिजन सडक कार्यालय दोलखाले सुनकोशी नदीले बगाएको जुरेको करिब १५० मिटर सडक भित्ता काटेर सानो गाडी चल्ने सक्ने सडक निर्माण गरेपछि बाह्रबिसेसम्मको यात्रा सहज भएको छ ।