काठमाण्डौ – उपत्यकामा आजदेखि साझा बस पनि गुड्न थालेको छ ।
७१ वटा बसमध्ये आजदेखि २६ वटा बस विभिन्न रुटमा चलाउन थालिएको साझा यातायातका कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार यी गाडी लगनखेलदेखि नयाँ बसपार्क, लगनखेलदेखि बुढानिलकण्ठ, गोदावरी रत्नपार्क, लामाटार रत्नपार्क, लगनखेल–सातदोबाटो–कलंकी हुँदै थानकोट, लगनखेल–बानेश्वर–एयरपोर्ट–चाबहिल हुँदै नयाँ बसपार्क, रत्नपार्क–कंलकी–स्वयम्भु हुँदै बालाजु, रत्नपार्कबाट सूर्यविनायक र बुङमतीबाट बुढानिलकण्ठसम्म चल्नेछन् ।
कोरोना सङ्क्रमणबाट बच्न यात्रु आफैंले स्वास्थ्य सतर्कता अपनाउनुपर्ने साझा यातायातले जनाएको छ । सरकारले तोकेको मापदण्डअनुसार चालक र सहचालकले मास्क र पन्जा लगाएका छन् । यात्रुलाई पनि अनिवार्य मास्क लगाउन साझा यातायातले आग्रह गरेको छ ।
सरकारले मास्क र पञ्जासँगै बसमा स्यानिटाइजर राख्न तथा एउटा सिटमा एक जना मात्रै यात्रु राख्न पाइने नियम बनाएको छ ।
साझाले पनि ५० प्रतिसम्म बढी भाडा लिने भन्दै यात्रुलाई खुद्रा पैसा बोक्न अनुरोध गरेको छ । काठमाण्डौ उपत्यकाका १० वटा रुटमा साझा बस चल्छन् । साझाले अपाङ्तामैत्री सेमी लो फ्लोर बस सञ्चालनमा ल्याएको छ ।