दैलेख – दैलेखमा आइसोलेसन अस्पताल निर्माण गरिएको छ । कोरोना भाइरस रोग संक्रमितको उपचारका लागि दैलेख सदरमुकाम स्थित झुप्रेसाल नजिकै भगवती मन्दिरको डाँडामा अस्पताल निर्माण गरिएको हो ।
स्वास्थ्य सेवा कार्यालय दैलेखको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने गरी अस्पताल बनाइएको हो । कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि निर्माण थालिएको अस्पताल तीन हप्तामा सकिएको निर्माण कम्पनीले जनाएको छ ।
एक पटकमा ५० जनाको उपचार गर्ने गरी आइसोलेसन अस्पताल बनाइएको छ । पाँच वटा प्रिफेप भवन निर्माण भएका छन् । कर्णाली प्रदेशका सांसद अम्मरबहादुर थापाको सांसद क्षेत्र विकास कार्यक्रमको बजेटबाट अस्पताल निर्माण गरिएको हो ।
अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि आवश्यक तयारी पूरा भएको सांसद थापाले जनाए । आइसोलेसनका लागि आवश्यक अक्सिजनलगायतका अरु उपकरण भने व्यवस्थापन हुन बाँकी छन् ।
अस्पताल निर्माणका लागि जेसीका एण्ड अभियान कन्ट्रक्सन प्राली दैलेखले जिम्मा पाएको थियो ।