पोखरा – कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ मा पहिरोमा परी एकै परिवारका ३ जनाको ज्यान गएको छ । घर माथिको पहिरोले पुरिँदा प्रेम विकका ३ नाति नातिनाको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवासले जानकारी दिएका छन् ।
प्रेमका १६ वर्षीय नाति कुशल, १६ वर्षीया नातिनी रोजिना र १४ वर्षीय नाति समीर विकको मृत्यु भएको हो । प्रेमका दम्पती भने सकुशल छन् । शुक्रबार बिहानै प्रेमको घर पहिरोले पुरेको थियो । मृतक सबैको शव समेत निकालिसकिएको छ । प्रेमकी बुहारी भने छोरी सहित माइत गएकी थिइन् ।
प्रेमका ३ जना छोराका सन्तान पहिरोमा पुरिएका हुन् । उनीहरुका बाबु आमा भने अन्तै बस्दै आएका थिए । विदाका बेला उनीहरु बाजे बज्यै भएको घर गएका थिए । रोजिना प्रेमकी जेठो छोराकी छोरी, कुशल माइलाका छोरा र समीर कान्छा छोराका छोरा हुन् ।
प्रेमका जेठा छोरा पोखराको लामाचौर बस्दै आएका छन् ।