कर्णाली प्रदेशमा रहेका अस्पतालहरूमा कोरोना संक्रमणबाट बच्न आवश्यक पर्ने स्वास्थ सामग्री सहयोग गर्न कोरियामा सहयोग अभियान सुरु भएको छ । कर्णाली प्रदेश समाज दक्षिण कोरियाले मार्च २२ बाट औपचारिक निर्णय गरि आन्तरिक रूपमा सहयोग संकलन गर्दै आइरहेको बताएको छ ।
दक्षिण कोरियामा रहेका कर्णाली बासीहरूले उक्त अभियान सञ्चालन साथ दिइरहेको समाजका अध्यक्ष प्रकाश बस्नेतले जानकारी दिए ।सहयोग रकम बाट कर्णाली सरकारले जिम्मेवारी तोकेका अस्पताल सग सहकार्य गरि कर्णालीका कुनै अस्पताल तथा गाउँमा खर्च गरिने छ ।
अभियानमा अहिलेसम्म १ सय १७ जनाले सहयोग गरेको पनि अध्यक्ष बस्नेतले जानकारी दिए । सहयोगी दाताहरु स्वस्फूर्त रुपमा यस अभियानमा जोडिएको पनि बस्नेतले बताए ।
कर्णाली प्रदेश सरकारले कोरोना संक्रमितको लागि सुर्खेतको प्रदेश अस्पताल, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुकुमको चौरजहारी सामुदायिक अस्पताललाई आवश्यक तयारी अवस्थामा राखेको छ ।
नेपालमा अहिलेसम्म ५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा कर्णालीमा एक जना पनि संक्रमित देखिएको छैन । विदेशबाट आएका झण्डै दुई सयभन्दा बढी युवालाई भने सुर्खेत लगाएका विभिन्न जिल्लामा रहेका क्वारेन्टाइनमा राखिएको छ ।
कर्णाली प्रदेशमा कोरोनाबाट बच्न आबश्यक सामाग्री सहयोग गर्ने उद्देश्यले कर्णाली प्रदेश समाज द्वारा संञ्चालित मातृभुमी बचाऊ अभियानमा जोडिएर सहयोग गर्न कर्णाली प्रदेशबासि सबैलाई समाजले अनुरोध पनि गरेको समाजका सल्लाहकार ओमलाल ओलीले बताए ।