काठमाडौँ – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जनकुमार कोइरालाको कैद सजाय घटाएको छ । श्रीमती हत्याको अभियोगमा अदालतले सुनाएको सर्वस्वसहित जन्मकैदको सजाय काटिरहेका कोइरालालाई अदालतका प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीको संयुक्त इजलासले ८ वर्ष ६ महिना जेल बस्दा पुग्ने फैसला गरेको हो ।
२७ पुस ०६८ मा कोइरालाले बूढानीलकण्ठस्थित घरमा श्रीमती गीता ढकाल कोइरालाको घाँटी थिचेर हत्या गरी शव मकवानपुरमा टिस्टुङ जंगलमा लगेर पेट्रोल छर्केर जलाएका थिए । गीतालाई रञ्जनले नै हत्या गरेको ठहरबमोजिम ८ माघ २०६८ बाट हालसम्म थुनामा बसेका कोइरालालाई जन्मकैद चर्को हुने बताउँदै कैद सजाय घटाएको हो ।
७ वैशाख २०७१ मा काठमाडौँ जिल्ला अदालतले उनलाई श्रीमतीको हत्याको अभियोगमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद हुने फैसला गरेको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महम्मद जुनैद आजादको फैसलालाई उच्च अदालत पाटनले २३ मंसिर २०७२ मा सदर गरेको थियो । त्यसविरुद्ध कोइराला सर्वोच्च अदालत गएका थिए ।
उक्त मुद्दाको अन्तिम फैसला गर्दै प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीले जन्मकैद गर्दा कोइरालालाई ‘चर्को पर्नसक्ने’ भन्दै उनको सजाय घटाइदिएका हुन् । ८ वर्ष ६ महिना यही ७ साउनमा पुग्दैछ । त्यसपछि कोइरालाले जेलसजाय भोग्नुपर्दैन ।
‘मृतक गीता ढकाल र प्रतिवादी कोइरालाको २७ पुस २०६८ मा व्यापारका लागि पैसा मागेको कुराबाट उठेको विवादमा दुवै जनाबीच झैझगडा वादविवाद हुँदा सो अवस्थामा रिस उठी आवेगमा आई धकेल्दा भित्तामा ठोकिइ मृत्यु भएको देखिन्छ । साथै वारदात हुँदा पृष्ठभूमिको अवस्था र परिस्थितिलाई हेर्दा वारदात मृतककै कारण र जरियाबाट प्रतिवादी आदेश आई उठेको रिसबाट भएको भन्ने अवस्था देखियो । साथै ढकालको मृत्युपश्चात नाबालक छोराहरुको हेरचाह, संरक्षण एवं शिक्षा दिक्षालगायतका कार्यहरु अभिभावकविहीनताका कारण अनिश्चय र अन्योल हुन गई उनीहरुको हितमा समेत दुरगामी प्रभाव पर्न जानसक्ने भएकाले सो सजाय चर्को मूल्य पर्न जाने जस्तो चित्तमा लागेको हुँदा प्रतिवादीलाई साविक मुलुकी ऐन अ.ब १८८ नम्बर हाल प्रचलित फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७ (क) अनुसार ८ वर्ष ६ महिना कैद हुनेछ ।’ सर्वोच्चले कोइरालाको मुद्दाको फैसलामा भनेको छ ।
गत १५ असारमा भएको फैसला हालै मात्रै सार्वजनिक भएको हो । जिल्ला र उच्च अदालतबाट पाएको सजाय भुक्तान गर्न कोइराला काठमाडौँको डिल्लीबजार कारागारमा छन् । सर्वोच्चले जन्मकैदको सजायलाई ८ वर्ष ६ महिनामा घटाइदिएपछि कोइराला ३ दिनपछि जेलमुक्त हुन्छन् ।
श्रीमतीको हत्या गरेको अभियोगमा अदालतले सुनाएको सर्वश्वसहित जन्मकैदको सजाय काटिरहेका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय सर्वोच्च अदालतले घटाइदिएको छ। सर्वोच्चले उनको सजाय घटाएर साढे ८ वर्षमा झारिदिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइराला साढे ८ वर्ष मात्रै जेल बस्दा पनि ‘सजायको मकसद पूरा हुने’ भन्दै उनको सजाय घटाइदिएको हो।
साबिक इचंगुनारायण– ६, काठमाडौंका रञ्जनप्रसाद कोइराला सशस्त्र प्रहरीको डीआईजी पदमा कार्यरत रहँदा नै पत्नी गीता ढकाललाई हत्या गरेको ठहर भएको थियो । काठमाडौं जिल्ला अदालतले ७ वैशाख २०७१ मा उनलाई पत्नीको हत्याको अभियोगमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद हुने फैसला गरेको थियो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश महम्मद जुनैद आजादको फैसलालाई उच्च अदालत पाटनले २३ मंसीर २०७२ मा सदर गरेको थियो । त्यस विरुद्ध कोइराला सर्वोच्च अदालत गएका थिए।
उक्त मुद्दाको अन्तिम फैसला गर्दै प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीले १५ असार २०७७ मा जन्मकैद गर्दा कोइरालालाई ‘चर्को पर्न सक्ने’ भन्दै उनको सजाय घटाइदिएका हुन् । राणा र केसीले कोइराला ८ वर्ष ६ महीना मात्रै जेल बस्दा ‘सजायको मकसद पूरा हुने’ ठहर्याएका छन्।
यस्तो थियो घटना
२०५० सालमा बिहे गरेका रञ्जन र गीताबाट दुई छोराको जन्म भएपछि उनीहरुको सम्बन्ध बिग्रन थालेको थियो । रञ्जनले चितवनकी तारा रेग्मीसँग सम्बन्ध बढाएपछि उनको पारिवारिक सम्बन्ध बिग्रंदै गएको थियो । रञ्जनले गीतामाथि सम्बन्धविच्छेदका लागि दबाब दिंदै अंशचलान मुद्दा हालेका थिए भने गीताले रन्जनमाथि मानाचामल मुद्दा हालेकी थिइन्।
उनीहरु एक अर्काबाट छुट्टिएर बस्न थालेका थिए । गीता बूढानीलकण्ठ–५ मा बस्थिन् भने रञ्जन ११ महिने नेशनल डिफेन्स कोर्षका लागि २०६८ भदौमा चीन गएका थिए । चीनबाट विदामा २१ पुसमा रञ्जन नेपाल फर्किए । २७ पुसमा गीताको घर पुगी कान्छो छोरा लिएर हिंडेका थिए । गीताले आफ्ना बाबु हरेराम ढकाललाई त्यसबारे जानकारी दिएकी थिइन् ।
त्यसपछि माइतीले बारम्बार प्रयास गर्दा पनि गीतासँग सम्पर्क हुन सकेन । खोजी गर्दा पनि नभेटिएपछि गीताका बाबु हरेरामले ‘रञ्जनले छोरीको दाइजो र पेवा हत्याउनका लागि सम्बन्ध विच्छेदको दबाब दिँदै आएको, बारम्बार मानसिक र शारीरिक यातना दिएको भन्दै उनलाई बन्धक बनाएर राखेको हुनसक्ने’ आशंकासहित ६ माघ २०६८ मा महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिए । त्यसको दुई दिनपछि गीताको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको खबर पाएका हरेरामले छोरीको हत्यामा जिम्मेवार रहेको भन्दै रञ्जन विरुद्ध अर्को जाहेरी दिए।
अनुसन्धान हुँदै जाँदा रञ्जनले २७ पुसमै गीताको हत्या गरेको र मकवानपुरको टिस्टुङ–८ स्थित त्रिभुवन राजपतको मेत्राङ भन्ने स्थानमा जलाएको पुष्टि भयो । २८ पुसमा जलेको अवस्थामा त्यहाँ शरीरका बाँकी अंग भेटिए । डीएनए परीक्षणबाट उक्त शरीरका टुक्रा गीताकै भएको पुष्टि भयो । ८ माघमा नागढुंगामा आफैंले चलाएको बा ८ च ५४०८ नम्बरको गाडीसहित रञ्जन पक्राउ परे।
यो मुद्दामा अदालतमा लामो बहस भयो । झण्डै साढे दुई वर्षपछि काठमाडौं जिल्ला अदालतले रञ्जनलाई पत्नी गीताको हत्याका लागि जिम्मेवार ठहर्यायो र उनलाई जन्मकैदको फैसला गर्यो । उनकी प्रमेका भनिएकी तारालाई एक वर्ष सजाय हुने फैसला पनि अदालतले सुनायो।
त्यस विरुद्ध तीनै पक्षले उच्च अदालत पाटनमा पुनरावेदन गरे । पीडितका तर्फबाट नेपाल सरकारले ताराले ज्यान मार्ने काममा षडयन्त्र गरेको भन्दै १० देखि १५ वर्षसम्मको कैद सजाय मागसहित पुनरावेदन गर्यो भने रन्जन र तारा दुवैले आफूहरु निर्दोष रहेको दाबी गर्दै कुनै सजाय नहुनुपर्ने जिकिर गरे।
तर, २३ मंसीर २०७२ मा उच्च अदालतले तीनै पक्षको पुनरावेदनमा दावी नपुग्ने ठहर गर्यो र जिल्ला अदालतको फैसलालाई नै सदर गर्यो । त्यसपछि रञ्जन र नेपाल सरकार दुवै उस्तै तर्क गर्दै सर्वोच्च अदालत पुगे । त्यसरी आफूकहाँ आइपुगेको मुद्दामा सर्वोच्चले अन्तिम फैसला गर्दै रन्जनको सजाय घटाइदिएको हो।