काठमाडौं-देशभर तीन दिनदेखि लगातार भईरहेको वर्षा र बाढी पहिरोको कारण आधा दर्जन जलविद्युत आयोजना प्रभावित भएका छन्।
चमेलिया खाेलामा धमिलो पानी आएपछि ३० मेगावाट उत्पादन क्षमताको चमेलिया जलविद्युत आयोजना मंगलबार बिहान ८ बजेदेखि साढे ११ बजेसम्म बन्द भएको थियो। अहिले भने उक्त आयोजना सञ्चालनमा आईसकेको छ।
भारी वर्षाबाट सिर्जित समस्याकै कारण ७० मेगावाट उत्पादन क्षमताको मध्यमर्स्याङ्दी, १६ मेगावाटको त्रिशुली र १४ मेगावाट उत्पादन क्षमताको देवीघाट विद्युतगृह बन्द भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। त्यस्तै, ६० मेगावाट उत्पादन क्षमताको त्रिशुली ३ ए जलविद्युत आयोजना र १४ मेगावाट उत्पादन क्षमताको मोदी जलविद्युत आयोजना पनि प्रभावित भएका छ।
भारी वर्षाका कारण प्रसारण तथा वितरण लाइनको तार चुँडिने, रुख ढल्दा लाइनमा क्षति पुग्ने गर्दा विद्युत् आपूर्तिमा समस्या भएको छ।