बासुदेव भट्ट / सिओल
दक्षिण कोरियामा नेपाल र दक्षिण कोरियाको साझा सहभागीतामा नेपाल–कोरिया सांस्कृतिक आदानप्रदान कार्यक्रमको आयोजना हुने भएको छ। आगामी अक्टोबर २८ तारिखमा नेपाली राजदुतावास, विश्व बहुसांस्कृतिक महासंघ, जिउमचेवन कल्चर र नेपाली विद्यार्थी समाज(सोनसिक) दक्षिण कोरियाले संयुक्त रूपमा कार्यक्रमको आयोजना गर्न लागेका हुन्।
कोरियाको राजधानी सिओल स्थित रहेको नेपाली राजदुतावासले बुधबार सुचना पत्र निकाल्दै नेपाल-कोरियाको कुटनैतिक सम्बन्धको ५०औं बर्षगाँठको अवसरमा आगामी बर्ष २०२४-२५ मा नेपाल-कोरिया बृहत सांस्कृतिक तथा सांगीतिक कार्यक्रमको आयोजना गर्न लागिएको जनाएको छ।
सोही कार्यक्रमको तयारी स्वरुप अक्टोबर २८ मा नेपाल–कोरिया सांस्कृतिक आदानप्रदान कार्यक्रमको आयोजना हुन लागेको दूतावासले जनाएको छ। कार्यक्रम कोरियाको ‘गुम्छन् गुछङ देखाङ्दाङ’ मा दिउँसो १:३० बजेदेखि ५ बजेसम्म संचालन हुने भएको छ।
कार्यक्रममा कोरिया र नेपालका स्थानीय कलाकारहरुले प्रस्तुति दिनेछन्। कार्यक्रमले नेपाल-कोरिया बृहत सांस्कृतिक तथा सांगीतिक कार्यक्रमको लागि पृष्ठपोषण उपलब्ध गराउने दूतावासले जनाएको छ। साथै नेपालको मौलिक कला, संस्कृति, संगीतलाई कोरियाली समुदायमाझ परिचित गराउन कार्यक्रमले ठूलो भुमिका खेल्ने अपेक्षा समेत राखिएको आयोजकले जनाएको छ।
आयोजकले कोरियामा रहेका नेपालीहरुलाई नेपाली भेषभुषा सहित उपस्थित हुन अनुरोध गरेको छ। यसका साथै कार्यक्रम आयोजनाको जानकारी दिदै आयोजकले कार्यक्रमको सफलतापुर्बक सञ्चालनका लागि आवस्यक सहयोगको माग गरेको छ।