जलेश्वर – अविरल वर्षाका कारण जलेश्वर कारागार डुबानमा परेको छ । गत बुधबारदेखिको वर्षाले कारागार डुबानमा परेको हो।
करिब १६० वर्षभन्दा पुरानो राणाकालीन कारागार जलेश्वर नगरपालिकाको वडा नम्बर २ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ । वर्षाको बेला यस कारागार पटक पटक डुबानमा पर्दै आएको थियो ।
कारागारको बाहिर मूलगेटदेखि भित्र कैदीबन्दी प्रवेश गर्ने मूल ढोकासम्म पानी भरिएको छ । कारागारभित्र तीन फिटभन्दा बढी पानी भरेर जलमग्न र अस्तव्यस्त भएको चौकीदार (मूलकैदी) रमेशकुमार सिंहले बताए ।
कारागारमा ४९५ पुरुष, ४६ महिला र चार आश्रित बालबालिका गरी जम्मा ५४५ रहेका छन् । बन्दीलाई खाना पकाउन, खान, बस्न, सुत्न, शौचालय जान, नुहाउन र घुमफिर गर्नलगायतका विभिन्न समस्या भएको उनले जानकारी दिए ।