अमेरिकी कामदार भिसा एचवानबीको अनलाइन दर्ताको नतिजा प्रकाशित गरिएको छ । युएससीआईएसले मार्च १ देखि २० सम्म अनलाइनमार्फत प्रारम्भिक रुपमा दर्ता गरिएका आवेदनको नतिजा प्रकाशित गरेको हो । अप्रिल १ देखि एचवानबी भिसाका लागि फाइल गर्नसक्नेछन् ।
झण्डै ४० हजार अनलाइन एकाउन्टहरु निर्माण गरिएको र झण्डै २ लाख ७५ हजारले अनलाइनमार्फत दर्ता गराएको युएससीआईएसले जनाएको छ । प्राप्त आवेदनहरुलाई लोटरीमार्फत छनौट गरिएको युएससीआईएसले जनाएको छ ।
आवेदकहरुमध्ये झण्डै ४६ प्रतिशत अमेरिकाको एड्भान्स डिग्री लिएकाहरु रहेको युएससीआईएसले जनाएको छ । ८१ प्रतिशत आवेदकहरु चीन र भारतका रहेका छन् । जसमध्ये भारतका ६७ दशमलव ७ प्रतिशत र चीनका १३ दशमलव २ प्रतिशत रहेको खसोखास अनलाइनले जनाएको छ ।
एचवानबीको नयाँ इलेक्ट्रोनिक दर्ता प्रणाली सफल भएको र सामान्य प्राविधिक समस्याका बाबजुत युएससीआईएसले दर्ता प्रकृयालाई आधुनिकिकरण गर्न सफल भएको जनाइएको छ । छनौट भएकाहरुले ९० दिनभित्र थप प्रकृयाका लागि फाइल गर्नसक्नेछन् ।
अनलाइनबाट छनौट भएकाहरुले भिसाका लागि भने कागजी प्रकृयाबाटै फाइल गर्नुपर्नेछ । युएससीआईएसले कति आवेदन छनौट गरियो भन्नेबारे केही बताएको छैन । तर एचवानबी भिसाको बार्षिक कोटा ६५ हजार र अमेरिकी डिग्री होल्डरका लागि थप २० हजार रहेको छ ।