रुकुममा आइतबार एक मजदुरको कार्यस्थलमा ज्यान गएको छ । खानेपानी सिचाई तथा उर्जा विकास कार्यालय रुकुम पश्चिमका बिद्युततको पोलहरु गाडीबाट झार्ने क्रममा मुसिकोट नगरपालिका १ सल्लेमा मुसिकोट नगरपालिका- ५ सेरीगाउँका ६२ बर्षका गोपाल खड्काको ज्यान गएको हाे ।
हेटौंडाबाट आएको ना ८ ख ३८३९ नम्बरको मालबाहक ट्रकबाट पोल झार्ने क्रममा टाउकोमा लाग्दा खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक हरिबहादुर ओलिले बताए । विभिन्न स्थानीय तहहरुलाई बितरणको लागि ल्याईएका पोलहरु स्टोरको लागी झार्न लागिएको थियो ।अन्य ५ जना साथीहरुसँगै पोल गाडिबाट झार्ने क्रममा उछिटिएर टाउकोमा लागेको खानेपानी सिचाई तथा उर्जा विकास कार्यालय रुकुम पश्चिमका प्रमुख तेजनारायण महतोले बताए ।उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।