धिरेन्द्र भट्ट/काठमाडौ
नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने र युएईका पूर्वकप्तान एवम् अलराउण्डर रोहन मुस्तफा हातेमालो सहित मुस्कुराइरहेको तस्बिरमा देखिएका छन्।
दुई भिन्न देशका खेलाडीहरु यसरी साथमा देखिनु स्वभाविक हो। तर, हिजो मात्रै नेपाल र युएईबिचको खेलको दौरान यी दुई खेलाडी भनाभनको स्थितिमा आएका थिए।
सोमबार नेपाल र युएई बिचको खेलको दोस्रो इनिङमा सन्दीप बलिङ गरिरहेका थिए। त्यस दौरान सन्दीपले रोहनलाई गरेको बलमा एलबीडब्लूको अपिल गरे। तर, अम्पायरले आउट दिएनन्। त्यसको दोस्रो बलमा अम्पायरको निर्णयले आक्रोशित भएका सन्दीप र ब्याटिङ गरिरहेका रोहन बीच त्यही विषयमा हल्का बातचीत भयो। त्यसको केहि क्षण पश्चात् यी दुई खेलाडी बीच भनाभनको स्थित उत्पन्न भएपछि अम्पायरले दुई वटैलाई आफ्नो भुमिका निर्वाह गर्न भनेपछि माहोल सम्हालियो। यो खेलमा नेपालले ४२ रनको रोमान्चक जित निकालेको थियो।
सोही विषयलाई लिएर सन्दीपले आज आफ्नो फेसबुकमा आफू र रोहनको अंगालो र हसिमजाकमा झगडाको रमाइलो तस्बिर सेयर गरेका छन्।
उक्त फोटोको माथी सन्दीपले मैदानमा प्रतिस्पर्धी र बाहिर आफुहरु साथी रहेको लेखेका छन्। साथै उनले फाल्गुन २५ गतेबाट हुने पपुवा न्यू गिनी र युएई बीचको एकदिवसीय शृङ्खलाको लागि रोहनलाई शुभकामना समेत लेखेका छन्।
‘मैदानमा प्रतिस्पर्धी र बाहिर साथीहरू। नेपालमा स्वागत छ रोहन मुस्तफा। यहाँको सुन्दर देश नेपालमा तपाई र तपाईको टोलीको राम्रो बसाईको शुभकामना,’ सन्दीपले लेखेका छन् ‘मलाई थाहा छ तपाईंका फ्यानहरू तपाईंलाई यहाँ फेरि देख्न पाउँदा साँच्चै खुसी हुनेछन्।’