धिरेन्द्र भट्ट/काठमाडौ
नेपालले पपुवान्युगिनी माथि महत्वोपुर्ण जित निकालेको छ। विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाललाई पिएनजिलाई ५२ रनले पराजित गरेको हो।
आज किर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा २९८ रनको बलियो लक्ष्य पाएको पिएनजिले ४७.१ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै २४५ रन मात्र बनाउन सक्यो। सुरुवाती १० ओभरको पहिलो पावरप्लेमा आक्रामक ब्याटिङ गर्दै बिना विकेटको क्षतिमा ७१ रन बनाएको थियो।
तर, १२औं ओभरको दोस्रो बलमा दिपेन्द्र सिंह एरिको फिल्डिङ थ्रो मा विकेटकिप्पर आसिफ शेखले किप्लिन डोरिगालाई रन आउट गरे। त्यसपछि भने पिएनजिको विकेट झर्ने क्रम रोकिएन। पिएनजिका लागि रन पछ्याउँने क्रममा नर्मन भानुआले ५७, टोनि उराले ५० तथा कप्तान असद भालाले ४२ रन जोडे।
यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २९८ रनको योगफल तयार पारेको थियो। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो नेपालले तयार पारेको अहिलेसम्मकै ठूलो लक्ष्य पनि बनेको छ।
नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो सतकिय पारी खेल्दै नायक बने ओपनर ब्याट्सम्यान आसिफ शेख। उनले समान बलको सामना गर्दै ११० रन जोडे। जसमा उनले १० चौका र २ चक्का प्रहार गरेका थिए। यस्तै अर्का ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले तथा भिम सार्कीले ४४ रन जोडे।
बलिङमा स्टार लेग स्पिनर सन्दीप लामिछानेले ४ विकेट लिए। यस्तै दिपेन्द्र सिंह एरिले २ विकेट प्राप्त गरे।
नेपाल अब शृङ्खलाको दोस्रो खेल फाल्गुन २८ गते युएई विरुद्ध खेल्नेछ। शृङ्खलाको २ खेलमा जित निकालेको खण्डमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम रहनेछ। ४ वटै खेलमा जित निकाल्दै शृङ्खला ‘क्लिन स्विप’ गरेमा सिधै २०२४ विश्वकप छनोटको ‘ग्लोबल क्वालिफायर्स’ खेल्न पाउनेछ।