धिरेन्द्र भट्ट/काठमाडौ
आईसीसी विश्वकप लिग-२ मा नेपालले युएईमाथि फराकिलो जित निकालेको छ। युएईमाथि १७७ रनको फराकिलो जित निकाल्दै नेपालले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता समेत जोगाएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगसालामा आज भएको खेलमा २४९ रनको लक्ष्य पाएको युएईले २२.५ ओभरमा अलआउट हुँदै ७१ रन मात्र बनाउन सक्यो। पहिलो ओभरमा नेपालका लागि ललित नारायण राजवंशीले पहिलो विकेट लिएपछि युएईको विकेट झर्ने क्रम जारी रह्यो।
युएईका लागि आयान खानले सर्वाधिक २९ रन बाहेक अरु ब्याट्सम्यानहरुले दोहोरो अंक जोड्न सकेन। नेपालका लागि बलिङमा ललितले ५ तथा सन्दीप लामिछानेले २ विकेट प्राप्त गरे।
यसअघि टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ४९.२ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै २४८ रन जोडेको थियो। पहिलो विकेटका रूपमा दोस्रो ओभरमा नेपालले ओपनिङ ब्याट्सम्यान आसिफ शेखलाई शून्य रनमा पहिलो विकेट गुमाएको थियो।
तर, कप्तान रोहित कुमार पौडेलले दबाबपूर्ण स्थितिमा ७७ रनको बहुमूल्य अर्धसतकिय पारी खेली आउट भए। यस्तै आरिफ शेखले ४३ तथा दिपेन्द्र सिंह एरिले ३४ रन जोडे। युएईका लागि बलिङमा रोहन मुस्तफा, आयान खान, आर्यन लक्रा र जाहुर खानले समान २-२ विकेट लिएका थिए।
नेपालले शृङ्खलाको दोस्रो खेल भोलि पपुवा न्युगिनी सँग खेल्नेछ। नेपालले अबका दुई खेलमा जित निकाले जिम्बावेमा हुने एकदिवसीय विश्व कपको छनौट खेल्न पाउनेछ।