धिरेन्द्र भट्ट/काठमाडौ
नेपालले सन् २०२४ मा हुने ट्वान्टी-२० विश्वकप छनौटका खेलहरु आयोजना गर्ने भएको छ। संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने ट्वान्टी-२० विश्वकपका लागि एसिया क्षेत्रको छनौटका खेलहरु नेपालमा हुने भएको हो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आईसीसी) ले नेपाललाई एसिया क्षेत्रको छनौट प्रतियोगिता आयोजना गर्न दिएको छ। नेपालले क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आईसीसीले नेपाललाई पहिलोपटक यति ठूलो प्रतियोगिता आयोजको जिम्मेवारी दिएको बताए। उनका अनुसार प्रतियोगिता आगामी नोभेम्बर १ देखि १० सम्म संचालन हुने हुनेछ।
एसिया क्षेत्रको छनौट प्रतियोगितामा ८ टिम हुनेछन्। जसमा नेपाल सहित युएई, ओमान, हङकङ, बहराइन र सिङ्गापुर रहेका छन् भने बाकी २ टिम छनौट चरण पार गरेर आउने छन्।
अध्यक्ष चन्दका अनुसार प्रतियोगिताका खेलहरु कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदान र मुलपानीको माथिल्लो क्रिकेट मैदानमा हुने बताए। माथिल्लो मुलपानी मैदानमा हालै सम्पन्न एसिया कप छनौटका खेलहरु पनि सम्पन्न भएका थिए। युएई र ओमान बीच मुलपानी मैदानमा पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुँदा मुलपानी मैदानले अन्तर्राष्ट्रिय रंगशालाको मान्यता समेत पाएको थियो।
एसिया क्षेत्रको छनौट प्रतियोगिता आयोजना गर्न युएई पनि इच्छुक थियो। तर, युएई कयौं पटक एसिया कप र विश्वकप समेत आयोजना भएकोले यसपटक आईसीसीले यो प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी नेपाललाई दिएको अध्यक्ष चन्दले बताए। नेपालले यसअघि यतिठुलो प्रतियोगिता आयोजना गरेको छैन।