
मध्यपहाडी राजमार्गमा यात्रा गर्ने यो मौसम उपयुक्त मौसम हो । केही दिन अघि सम्म यो रुटमा भारी हिँउ जमेको हुदा यात्रा कठिन हुन्थ्यो । भारी हिमपात भयो भने ठुला साना सबै सवारी साधन खण्ड खण्ड भागमा अबरुद्ध हुन्छन । तर पनि सेताम्य हिमश्रृखलाहरु हेर्न र हिउमा रमाउन मान्छेहरु कष्टहरु पचाउदै यस रुटका जटिल क्षेत्रहरु गर्छन । रुकुम पश्चिम रुकुम पुर्व बाग्लुङ पर्वत पोखरा तनहु धादिङ हुँदै काठमाडौ र सोही मार्ग भएर मैले धेरै पटक यात्रा गर्ने गरेको छु । हिमपातले बाटो अबरुद्ध गरेको एकाध समय बाहेक मेरो रोजाईको मार्ग हो यो । अक्सर हिड्ने यो बाटो असाध्य रमाईलो र मनमोहक छ ।

यो मार्ग भएर म मात्र हिड्ने गरेको छैन समय र रुचि मिल्ने सबैलाई यहि मार्ग भएर यात्रा गर्न उत्प्रेरित गर्ने पनि गरेको छु । यसो गर्दा यो मार्गको पहिचान यो मार्ग अन्र्तरगतका पर्यटन र विकासका सम्भावनाहरुको खोज अनुसन्धान उजागर र विकासमा टेवा पु¥याउनु पनि हो । । बिषेश गरि मलाइ काठमाडौ बाट रुकुम पश्चिम सम्म पुग्न यो रुट हेरक हिसाबले गजब लाग्छ । हुन त यो राजमार्ग पाँचथर जिल्लाको पूर्वी भेगमा पर्ने चियोभञ्ज्याङबाट सुरु भई बैतडी जिल्लाको झुलाघाटमा गएर टुंगिन्छ ।

तर यति लामो यात्रा गर्ने अवसर मैले पाएको छैन । पश्चिम रुकुमको सदरमुकाम खलंगा देखि चौरजहारी हुँदै जाजरकोट कुदु खण्ड सम्म र पुनः दैलेखको राकम हुँदै अछामको पुरै जिल्ला छिचोल्दै डोटी डडेलधुरा भएर बैतडी पाटन हुँदै दार्चुला सम्मको यात्रा गरेको छु । अछाम खण्डमा काम आंशिक मात्र बाकी रहेपनि जाजरकोट र बैतडी खण्डमा सोचे अनुसार काम भएको छैन की जस्तो लाग्छ ।
चियाभन्ज्याङदेखि झुलाघाटसम्म पुग्दा यो राजमार्गले पहाडका ४० जिल्लामध्ये २५ जिल्ला पार गर्छ । ती जिल्लामध्ये पनि २० जिल्लाका सदरमुकाम छोएर जान्छ । गाउँ मात्र नभएर यसले नेपालका धेरै सहरसँग पनि सम्पर्क जोड्छ । यो राजमार्गले पुर्णता पाए सगै पहाडी जिल्लाका जनताको जिवन स्तरमा सुधार आउने र यस क्षेत्र अन्र्तगतका पर्यटकिय सगै अन्य पुर्वाधारहरुले गति लिने छ ।
पोखरा र पश्चिम धौवलागिरीको पर्यटनलाइ कर्णाली प्रदेश हुदै दैलेख जुम्ला राराताल हुदै हिल्सा तिब्बत जोडने र खप्तड रामारोशन अपि सैपाल जोडने महत्वपुर्ण मार्ग हुनेछ ।

बिषेश गरि हिम श्रृखलाहरुको मनमोहक दृश्यहरु कास्की जिल्लाको साराङकोट बाट अगाडी बढेपछि अाँखै अगाडी टल्कन आइपुग्छन । हिमालहरु हेदै कतै शहर त कतै पहाड कतै सदरमुकामलाई जोडेर बनाइएको यो राजमार्ग अरु राजमार्ग भन्दा पर्यटकिय दृष्टिकोणले अलि फरक छ । रुकुम पुर्वको कार्की र बाग्लुङको पाथिहाल्ना क्षेत्रमा यो रुटमा निकै हिमपात हुने गर्छ । यो रुटको अबरुद्ध हुने मुख्य क्षेत्र पनि यही नै हो ।
तनहु जलविद्युत दमौली बन्दिपुर पोखराका सबै रमणीय स्थलहरु अनि मोदिखोला जलविद्युत गृह पर्वत कुस्मा पर्वत बाग्लुङ जिल्ला जोड्ने झोलुङ्गे पुल कालीगण्डकी नदि जलयात्रा माछापुच्छ्रे र धवलागिरी हिमश्रृखला अन्तर्गतका हिमाली दृश्यहरु बुर्तिवाङ बजार उत्तरगंगा नदि ढोरपाटन शिकार आरक्ष पहाडी जनजिवन ,आर्गानिक खानपान,भेषभुषा,यो रुटका पर्यटकिय सम्पदाहरु हुन । रुकुम पुर्वका मगर वस्ती सुन्दर पाथिहाल्ना सिमाना कमलताल सानोभेरी नदि साँख दह मुसिकोट क्षेत्र पश्चिम रुकुमका उर्बर फाटहरु रुकुम सम्म पुग्दा भेटिन्छन ।

कतिबेला पहाड उक्लदै कतिबेला शहर तिर हुइकिदै यो क्षेत्रमा यात्रा गर्दा प्राप्त हुने अविस्मरणीय अनुभुती हरु हुन । विषेश गरि मोटरसाइकलमा सुरक्षित तरिकाले यात्रा गर्दा यो रुटमा धेरै मज्जा आउछ । हामीले जानी जानी केही समय अगाडी परेको भारी हिमपात पन्छाउदै यो रुटको यात्रा गरेका थियौ । जतिबेला करिव ६ किलो मिटर हिमपातले सडक अबरुद्ध थियो । हामीले हाम्रा मोटर साइकल कतै बोक्दै कतै धिकेल्दै अगाडी बढाएका थियौ । यात्रा कष्टकर भए पनि त्यही मज्जा लिन हामीले त्यो मौसम र त्यो यात्रा तय गरेका थियौ ।